जोमसोम-कागबेनी सडक कालोपत्र सुरू


म्याग्दी – मुस्ताङको सदरमुकाम जोमसोमदेखि धार्मिक पर्यटकीयस्थल वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र कागबेनी जोड्ने सडक कालोपत्र गर्न थालिएको छ । १३ किलोमिटर लामो जोमसोम-कागबेनी सडक ११ मिटर फराकिलो बनाएर आक्सपाल्ट प्रविधिको कालोपत्र गर्न थालिएको हो ।

राष्ट्रिय गौरवको कालीगण्डकी कोरीडोर बेनी-जोमसोम-कोरला सडक आयोजनाअन्तर्गत जोमसोम-कागबेनी खण्डमा कालोपत्र गर्न २०७८ असोज ४ गते रौताह-आत्रेय जेभीले २८ करोड १४ लाखमा ठेक्का सम्झौता गरेको थियो ।

१८ महिनाको ठेक्का अवधिको भएको ठेकेदारलाई बेनी–जोमसोम–कोरला सडक आयोजनाले धरौटी जफत गरेर कालोसूचीमा राख्ने चेतावनी दिएपछि दुुई वर्षपछि कम्पनीले गत भदौदेखि काम थालेका थियो ।

जोमसोमदेखि चीनको स्वशासित क्षेत्र तिब्बतको सीमानामा रहेको कोरला नाका जोड्ने आठ वटा खण्डको एक सय १० किलोमिटर सडकमध्ये छ वटाको ७५ किलोमिटरमा ग्राभेल भएको छ । २५ किलोमिटर लामो चराङ-छोसेर खण्डको ८५ प्रतिशत काम पूरा भएको छ । यो खण्डको स्तरोन्नति सकिएपछि जोमसोम–कोरला नाका जोड्ने सबै खण्ड ग्राभेल गरिने योजना छ ।

 

प्रतिक्रिया