एसइई नतिजा आज सार्वजनिक हुँदै


काठमाडाैं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज बिहान सार्वजनिक हुने भएको छ । आज बिहान ७ बजे बोर्ड बैठक बसेर १० बजेसम्म नतिजा सार्वजनिक गर्ने तयारी भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

हिजो नै नजिता सार्वजनिक गर्ने तयारी भए पनि केही प्राविधिक काम बाँकी भएकाले आज सार्वजनिक गर्ने निर्णय भएको कार्यालयले जनाएको छ । गएको चैत १५ देखि २७ गतेसम्म भएको एसईई परीक्षामा देशभरका पाँच लाख चार हजार चार सय १४ विद्यार्थी सहभागी थिए ।

बोर्डले यस वर्षदेखि लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गर्ने भएको छ । जसमा सैद्धान्तिक र आन्तरिकको मूल्याङ्कन फरक–फरक रूपमा गर्ने व्यवस्था छ ।

विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अङ्क ल्याउनुपर्छ । ७५ अङ्कको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २६ दशमलव २५ अङ्क ल्याउनुपर्छ । त्यसमा आन्तरिकतर्फ २५ पूर्णाङ्कको परीक्षामा भने ४० प्रतिशत अर्थात् १० अङ्क ल्याउनुपर्छ ।

प्रतिक्रिया