अवैध कल बाइपास गर्ने दुई जना काठमाडाैंबाट पक्राउ


काठमाडाैं – अवैध अन्तर्राष्ट्रिय आगमन कल बाइपास अर्थात् (भिओआइपी) सञ्चालन गरेको आरोपमा प्रहरीले काठमाडाैंबाट दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको लिशङ्खुपाखर गाउँपालिका-५ घर भई बनस्थली बस्ने ४० वर्षीय भुपेन्द्र श्रेष्ठ र झापा गौरीगन्ज गाउँपालिका-४ घर भई कपन बस्ने २४ वर्षीय खुमप्रसाद गिरी रहेका छन् ।

सरकारको कुनै पनि निकायबाट अनुमति नलिई गैरकानुनी रूपमा भिओआइपी सञ्चालन गरिरहेको भन्ने सूचनाका आधारमा नेपाल टेलिकम र एनसेलको प्राविधिक सहयोगमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूमाथि दूरसञ्चार ऐन, २०५३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडाैंबाट पाँच दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया