काभा भलिबलमा आज नेपाल र इरानसँग खेल्दै


काठमाडाैं – काभा महिला भलिबल लिगमा नेपालले आज इरानसँग खेल्दैछ । खेल त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा बेलुका सवा ५ बजे सुरु हुनेछ । त्यसअघि आजै दिउँसो तीन बजे श्रीलङ्का र माल्दिभ्स खेल्दैछन् ।

आजको खेलमा नेपालले इरानलाई सोझो सेट वा ३-१ को सेटमा पराजित गरेमा भारतलाई पछि पार्दै शीर्ष स्थानमा पुग्नेछ । नेपाल दुई खेलमा पाँच अङ्कसहित दोस्रो स्थानमा छ । पहिलो खेलमा नेपालले श्रीलङ्कालाई हराएको थियो ।

सात अङ्कसहित शीर्ष स्थानमा रहेको भारतले यसअघि इरान र माल्दिभ्सलाई हराएको थियो । नेपालले भोलि माल्दिभ्ससँग खेल्नेछ भने भारतले श्रीलङ्कासँग खेल्नेछ । हिजो भएको खेलमा भारतलाई ३-२ को सेटमा हराउँदै नेपालले ऐतिहासिक उपलब्धी हासिल गर्न सफल भयो ।

यसअघि सन् २०१९ को दक्षिण एसियाली खेलकुद सागमा नेपाल उपाधि नजिकै पुगे पनि अन्तिम सेटमा भारतसँग पराजित भएको थियो । काभा महिला भलिबल च्याम्पियनसिपमा नेपालसहित भारत, श्रीलङ्का, माल्दिभ्स र इरान सहभागी छन् । लिग चरणको खेलपछि शीर्ष चार टोली सेमिफाइनल पुग्नेछन् । अन्तिम हुने टोली बाहिरिनेछ ।

प्रतिक्रिया