छ महिनापछि बिदा हुने बाचासहित प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं – नवनियुक्त अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले आफू पदको रस्वादन गर्न नभई बाध्यतावश जिम्मेवारी लिन आएको बताएकी छिन् । आइतबार सिंहदरबारमा पदभार ग्रहण गर्दै उनले छ महिनाभित्र चुनाव सम्पन्न गरी पद हस्तान्तरण गर्ने अठोट व्यक्त गरिन् ।

उच्च पदस्थ कर्मचारीसँगको छलफलमा प्रधानमन्त्री कार्कीले भनिन्, “म रहरले आएको होइन । सडक र जनताबाट सुशीला कार्कीलाई जिम्मा देऊ भन्ने आवाज उठ्यो । त्यसपछि विवश भएर यो जिम्मेवारी स्वीकार गरेकी हुँ । मेरो उमेर पनि होइन, सत्ताको स्वाद लिन आएको होइन । छ महिनापछि कुनै हालतमा नबस्ने, नयाँ आउने सांसद र मन्त्रीलाई दायित्व सुम्पेर मुक्त हुने हो ।”

प्रधानमन्त्री कार्कीले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा मुलुकका अपरिहार्य संस्थालाई योजनाबद्ध रूपमा निशाना बनाइएको आरोप लगाइन् । “२७ घण्टामै जनधनको ठूलो क्षति भयो । ४० भन्दा बढी युवाको मृत्यु भयो। सर्वोच्च अदालत, सिंहदरबार, तराईका जिल्ला अदालतदेखि उच्च अदालतसम्मका फाइल, रेकर्ड, प्रमाण सबै नष्ट भए,” उनले भनिन् ।

कार्कीका अनुसार सुरक्षाकर्मीको समेत ज्यान गएको छ भने देशभरका चौकी, सवारीसाधन र भवनमा ठूलो क्षति पुगेको छ । “भौतिक संरचना फेरि बनाउन सकिन्छ तर मिसिल, रेकर्ड र प्रमाण जलेर शून्यमा पुगेका छौँ,” उनले दुःख प्रकट गरिन् ।

प्रधानमन्त्रीले यसपटकको हिंसा सामान्य नभई ‘टिपिकल’ र योजनाबद्ध भएको टिप्पणी गरिन् । “सुरक्षाकर्मीमाथि प्रहार, चौकी र अदालतका फाइल जलाइयो, सिंहदरबारका महत्त्वपूर्ण कागजात खरानी भए। यस्तो देख्दा नेपाली भन्न लाज लाग्छ,” उनले भनिन् ।

कार्कीले घटनाबारे छानबिन गरेर अनिवार्य संस्था नष्ट गर्नेहरूलाई कारबाही गर्नुपर्ने बताइन्। “यो योजनाबद्ध षड्यन्त्र हो । अनुसन्धान गरेर दोषीलाई कारबाही गर्नैपर्छ,” प्रधानमन्त्री कार्कीको भनाइ छ ।

यससँगै उनले अन्तरिम सरकारलाई सफल बनाउन सुरक्षाकर्मी र सबै सरकारी निकायलाई सहयोग गर्न आग्रह गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *