कार्कीलाई राष्ट्रपतिदेखि अन्तर्राष्ट्रिय समुदायसम्मको बधाई

काठमाडाैं – पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त भएलगत्तै राष्ट्रपति रामचन्द्र पौडेलसँगै अन्तर्राष्ट्रिय समुदायले बधाई दिएका छन् ।  संयुक्त राष्ट्रसङ्घदेखि छिमेकी देश भारत, बेलायत र जापानले बधाई दिएका हुन् ।

राष्ट्रपति पौडेलले शुभकामना दिँदै नवनियुक्त प्रधानमन्त्री कार्कीलाई देश सफल बनाउन आग्रह गरेका छन् । राष्ट्रपतिले भने ‘धेरै धेरै बधाई छ । धेरै धेरै शुभकामना । तपाईं सफल हुनुहोस् । देश सफल होस् ।’

संयुक्त राष्ट्रसङ्घको नेपालमा रहेको कार्यालयले नेपालको अन्तरिम प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएकोमा नेपाली नागरिकलाई बधाई दिएको छ ।

संयुक्त राष्ट्रसङ्घकी नेपालस्थित आवासीय संयोजक हाना सिङ्गर हम्दीले विज्ञप्ति निकालेर प्रधानमन्त्री कार्कीको नेतृत्वमा नेपालले शान्ति, न्याय, पारदर्शिता, जवाफदेहिता र प्रगतितर्फ महत्वपूर्ण कदम चाल्ने विश्वास व्यक्त गरेकी छन् ।

यस्तै कार्की नेतृत्वको अन्तरिम सरकारलाई स्वागत गर्दै भारतले नजिकबाट सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ । भारतीय विदेश मन्त्रालयले निकालेको विज्ञप्तिमा पूर्वप्रधानन्यायाधीश समेत रहेकी सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारले नेपालमा शान्ति र स्थायित्वलाई मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।

बेलायती दूतावासले निकालेको विज्ञप्तिमा कार्कीको नियुक्तिलाई गएको हप्ताका दुःखद घटनापछि देशलाई स्थायित्वतर्फ लैजाने महत्वपूर्ण कदमका रूपमा व्याख्या गरिएको छ । जापान सरकारले पनि कार्कीको नियुक्तिलाई स्वागत गर्दै नेपाल शान्तिपूर्ण र लोकतान्त्रिक सङ्क्रमणतर्फ अघि बढोस् भन्ने अपेक्षा व्यक्त गरेको छ ।

जापानले नेपालको दिगो विकास र समृद्धिमा निरन्तर सहयोग गर्ने तथा दुई देशबिचको परम्परागत मैत्री सम्बन्धलाई अझ सुदृढ बनाउने प्रतिबद्धता पनि जनाएको छ । यसैबीच प्रमुख दलहरू काङ्ग्रेस, एमाले र माओवादीले संसद् विघटनको मुद्दामा विरोध गरेका छन् भने रास्वपा संसद् विघटनको पक्षमा उभिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *