आज कोशी र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडाैं – हाल नेपालमा पश्चिमी र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।

यसको प्रभावले अहिले कास्की, लमजुङ, गोरखा, धादिङसहित देशका विभिन्न ठाउँमा वर्षा भइरहेको छ । पछिल्लो तीन घण्टामा लमजुङको भुजुङमा झण्डै ३२ मिलिमिटर वर्षा मापन भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो गण्डकीसहित कोशी, बागमती प्रदेशको केही ठाउँ तथा मधेश प्रदेशलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भागका थोरै ठाउँमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै भोलि पनि कोशी र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसैगरी तराईका केही ठाउँमा आंशिकदेखि सामान्य बदली रहने र केही ठाउँमा हल्का वर्षाको समेत सम्भावना छ । यसले तराई क्षेत्रमा लगातार बढ्दै गएको तापक्रम केही घट्ने अनुमान छ ।

वर्षासँगै चट्याङ्ग र उच्च हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *