बालिकामाथि सामुहिक बलात्कार गरी दलित परिवारका चार जनाको हत्या
नयाँदिल्ली – भारतको उत्तर प्रदेशमा दलित परिवारका चार जनाको हत्या भएको छ । प्रयागराजको मोहनजङ्ग गोवरी गाउँमा हिजो एकै परिवारका चार जनाको बन्चरो प्रहार गरी हत्या भएको बीबीसीले जनाएको छ ।
परिवारको हत्या अघि बालिकामाथि सामुहिक बलात्कार पनि भएको आफन्तजनले आरोप लगाएका छन् । उनीहरुले बालिकामाथि बलात्कार पछि परिवारका चार जनाको हत्या भएको भन्दै प्रहरीमा उजुरी दिएका छन् ।
जग्गाको विषयमा गाउँकै केही व्यक्तिसँग विवाद हुँदा त्यतिबेला पनि दलित परिवारमाथि कुटपिट भएको थियो । कुटपिट र ज्यान मार्ने धम्कीको विषयमा पहिले नै प्रहरीमा उजुरी दिए पनि कुनै सुनुवाइ नभएको र हिजो चार जनाको हत्या भएको आफन्तले बताएका छन् ।
प्रहरी र अभियुक्तको मिलेमतोमा घटना भएको भन्दै उनीहरुले निष्पक्ष छानबिनको माग गरेका छन् । यस्तै, भारतीय कांग्रेसले घटनाको विरोध गरेको छ । उत्तर प्रदेश कांग्रेसले ट्वीट गर्दै प्रहरीकै कारण दलित परिवारको हत्या भएको आरोप लगाएको छ ।
कांग्रेसकी महासचिव प्रियङ्का गान्धीले पीडित परिवारसँग भेटेर न्याय दिलाउन पहल गर्ने आश्वासन दिएकी छन् । उनले उत्तर प्रदेशमा सरकारले नै कानुनी राज्यको धज्जी उडाइरहेको र दलित तथा गरिब परिवारमाथि सरकारकै संरक्षणमा हमला भइरहेको आरोप लगाएका छन् ।