‘हिउँ खेल्न’ लाप्राक गएका दुई किशाेर ११ दिनपछि मृत फेला


गाेरखा – गएकाे ११ दिनदेखि हराइरहेका गोरखाको बारपाकका दुई किशोर मृत भेटिएका छन् । बारपाक सुलिकोट गाउँपालिका १ बारपाक गाउँका १६ वर्षका करण घले र १६ वर्षकै साइँला भनिने सञ्जय घले मृत भेटिएका हुन् ।

उनीहरू आज आइतवार बेलुका सुलिकोट वडा नम्बर १ को तिम्रा भन्ने ठाउँमा खोँचमा मृत भेटिएका जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश दाहालले बताए । घटनास्थलको अवस्था हेर्दा उनीहरु हिउँ परेको समयमा डाँडाबाट लडेर खोँचमा पुगी ज्यान गएकाे हुन सक्ने अनुमान गरिएको उनको भनाइ छ ।

थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयका अधिकृतसहितको टोली घटनास्थलतर्फ गएको डीएसपी दाहालले बताए । करण र सञ्जय गएको माघ २० गते बिहान १० बजेतिर हिउँ खेल्न भन्दै घरबाट लाप्राकतर्फ गएका थिए । करण र सञ्जय हिउँ खेल्न भनेर लाप्राकतिर गएको तर घरमा नआएको भन्दै उनीहरूका परिवारले माघ २३ गते प्रहरीलाई जानकारी गराएका थिए ।

प्रतिक्रिया