भीरबाट लडेर महिलाको मृत्यु

खोटाङ – भीरबाट लडेर खोटाङमा एक महिलाको ज्यान गएको छ। जन्तेढुंगा गाउँपालिका–६ केराबारीकी ४० वर्षीया इन्द्रकला मगरको भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।

आइतबार बेलुका करिब ५:१५ बजे केराबारीस्थित दामिरबोटे भन्ने ठाउँबाट बिउ राख्ने धान बोकेर घर फर्कँदै गर्दा नजिकैको स्याउखोला भीरबाट लडेर मगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सागर शाहले जानकारी दिए।

उनका अनुसार भीर नजिकैको गोरेटो बाटोबाट करिब ५७ मिटर तल अँगेरीको रुखमा अल्झिएको अवस्थामा मगरको शव भेटिएको हो।अबेरसम्म घर आइनपुगेपछि उनका श्रीमान् सम्बर राईले खोजी गर्ने क्रममा राति ९ बजे शव फेला परेको इलाका प्रहरी कार्यालय चिसापानीलाई जानकारी गराएका थिए।

घटनाको जानकारीपछि इलाका प्रहरी कार्यालय खोटाङबजार र चिसापानीबाट खटिएको प्रहरी टोलीले कानुनी प्रक्रिया पूरा गरेर शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी पठाएको छ। घटना सम्बन्धमा थप अनुसन्धान कार्य आगडि बढाइएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *