प्रधानसेनापति खुला म्याराथन : कृष्णबहादुर बस्नेत प्रथम


काठमाडाैं – यस वर्षको ‘प्रधानसेनापति खुला म्याराथन’ प्रतियोगितमा तीव्र गतिका धावकको सूचीमा नेपाली सेनाका कृष्णबहादुर बस्नेतले नाम लेखाउन सफल भएका छन् । सेना दिवसका अवसरमा आज आयोजित झण्डै ४२ किलोमिटर दूरीको म्याराथन दुई घण्टा १९ मिनेट ५७ सेकेन्डमा पूरा गरी बस्नेत पहिलो घोषित भएका हुन् ।

प्रतियोगितमा पहिलो भएका बस्नेतले तीन लाख रुपैयाँ नगद र मोटरसाइकल पुरस्कारका साथै अमेरिकामा हुने वर्ल्ड च्याम्पियनशीपमा भाग लिने अवसरसमेत प्राप्त गरेका छन् । प्रतियोगितमा सेनाकै खड्गबहादुर खड्का दोस्रो तथा सशस्त्र प्रहरी बल नेपालका किरणसिंह बोगटी तेस्रो भए ।

प्रतियोगिताअन्तर्गत पुरुष हाफ म्याराथन प्रतियोगितामा जगेन्द्र राई प्रथम, दीपक अधिकारी द्वितीय र तीर्थकुमार पुन तृतीय भए । यसैगरी महिलातर्फको हाफ म्याराथनमा सन्तोषी श्रेष्ठ प्रथम, राजपुरा पछाई द्वितीय र विश्वरुपा बुढा तृतीय भए ।

विजयी प्रतियोगीलाई प्रधानसेनापति प्रभुराम शर्मा, रक्षा सचिव किरणराज शर्मा र युवा तथा खेलकुद मन्त्रालयका सचिव डा दामोदर रेग्मीलगायतले नगद पुरस्कार एवं प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रतिक्रिया