कोरोना कहरबीच नेपाल सुपर लिग सुरु, विजेतालाई ३५ लाख


काठमाडौं – आजबाट काठमाडौंमा आयोजना हुन लागेको पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग ९एनएसएल०को विजेताले ३५ लाख रुपैयाँ पाउने भएको छ ।

आयोजक नेपाल स्पोर्टस् म्यानेजमेन्टले पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको विजेताले पाउने पुरस्कार राशिको घोषणा गरेको हो । सोही कार्यक्रममा आयोजकले जेठ १ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएकोसमेत जनाएको छ ।

आयोजकले कोरोना भाइरसको महामारी बाबजुद सरकारसँग छलफल गरेर अगाडि बढ्ने जानकारी दिएको छ । क्लबले लगानी गरिसकेको कारण बन्द रंगशालामा भए पनि प्रतियोगिताको आयोजना हुने आयाजकले जनाएको छ ।

कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै रंगशालामा दर्शक उपस्थित नगर्न निर्देशन दिएको थियो । त्यसैले आयोजक तोकिएको मापदण्ड अपनाउँदै आयोजना गर्ने लक्ष्यका साथ अगाडि बढेको छ । सोही कारण पहिलो संस्करणको प्रतियोगिता दर्शकविना सञ्चालन हुनेछ ।

यस्तै, प्रतियोगिताको दौरानमा कुनै पनि टोलीका खेलाडीमा कोरोना संक्रमण देखिए अर्को खेलाडी अनुबन्ध गर्न पाउने प्रावधान आयोजकले क्लबलाई प्रदान गरेको छ । पहिलो संकरणको लिगमा सात फ्रेन्चाइज टोलीले सहभागिता जनाउँदै छन् । जसमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भोलिबाट हुने प्रतियोगिताको पहिलो खेलमा काठमाडौं रेजर्स फुटबल क्लब र ललितपुर सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल साँझ साढे ५ बजेबाट सुरु हुनेछ ।

विजेताले ३५ लाख पाउनेछ भने यस्तै उपविजेताले १५ लाख पाउनेछ । त्यस्तै, हरेक खेलको उत्कृष्ट युवा खेलाडीले १० हजार र हरेक खेलको म्यान अफ दी म्याचले २५ हजार पाउनेछन् ।

प्रतिक्रिया