अनियमितता गरेको आरोपमा त्रिवि सेवा आयोगका ६ जनाविरुद्ध मुद्दा

काठमाडाैं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय सेवा आयोगका ६ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । उनीहरूविरुद्ध उत्तरपुस्तिका परीक्षणमा अनियमितता गरेको आरोपमा परीक्षार्थीको उत्तरपुस्तिका केरमेट तथा नम्बरमा हेरफेर गरेको आरोप लागेकाे हाे ।

२०७४ सालमा भएको लेखा सहायक र पुस्तकालय सहायकको पदको लिखित परीक्षामा गलत मनसाय राखी परीक्षार्थीको उत्तरपुस्तिका केरमेट गरेको, प्राप्ताङ्कमा हेरफेर गरेको आरोप रहेको अख्तियारले जनाएकाे छ ।

अख्तियारले  उत्तरपुस्तिका रुजु गर्ने सेवा आयोगका तत्कालिन प्रमुख परशुराम कोइराला, लेखा सहायक पदको प्रथम पत्र परीक्षण गर्ने सहप्राध्यापक केशव घिमिरे, दोस्रो पत्र परीक्षण गर्ने सहप्राध्यापक राजेश्वर न्यौपाने, पुस्तकालय सहायक पदको दोस्रो पत्र परीक्षण गर्ने पुस्तकालय सहप्रशासक इन्दिरा घिमिरे, उत्तरपुस्तिका संपरीक्षण गर्ने प्रा. डा. टेकनाथ ढकाल र तत्कालिन मुख्य कार्यालय सहायक बच्चुराम पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हाे ।

उनीहरूविरुद्ध तीन महिनादेखि एक वर्षसम्म कैद र पाँच हजारदेखि दश हजार रुपैयाँसम्म जरिबानाको माग दाबी गदै आरोपपत्र दायर गरेको अख्तियारले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *