त्रिविको बीसीए कोर्ष मानविकी संकायमा, आईटी अधिकृत पदमा विद्यार्थीले दिन पाएनन् आवेदन

काठमाडाैं – त्रिभुवन विश्वविद्यालयको बीसीएलाई मानविकी संकायमा राखेकै कारण आईटी अधिकृत पदमा विद्यार्थीले आवेदन दिन पाएनन् ।

त्रिविको ब्याचलर अफ कम्प्युटर एप्लिकेसन (बीसीए) कोर्षलाई मानविकी तथा सामाजिक विज्ञान संकाय अन्तर्गत राख्दा विद्यार्थीहरूले सरकारी सूचना प्रविधि अधिकृत पदमा आवेदन दिन नपाउने अवस्था सिर्जना भएको हो ।

त्रिविले बीसीए कोर्ष मानविकी तथा सामाजिक विज्ञान संकाय अन्तर्गत राखेकै कारण पढेकाहरूले नेपाल राष्ट्र बैंक र कृषि विकास बैंकले खोलेको सहायक निर्देशक तृतीय (सूचना प्रविधि) विज्ञापनमा आवेदन दिन नपाएका हुन् ।

हालै त्रिविमा बीसीए अध्ययन गरिसकेका विद्यार्थीले नेपाल राष्ट्र बैंकको सूचना प्रविधि सहायक निर्देशक पदमा आवेदन दिँदा त्रिविको बीसीए कोर्ष मानविकी संकाय अन्तर्गत भएकै कारण आवेदन दिन नपाएको सामाजिक सञ्जालमा गुनासो गरेका छन् ।

त्रिवि बाहेक पोखरा र पूर्वाञ्चल विश्वविद्यालयबाट बीसीए अध्ययन गरेका विद्यार्थीले भने आवेदन दिन पाएका छन् । राष्ट्र बैंक, कृषि विकास बैंकमा मात्र होइन नेपाल प्रहरीको सूचना अधिकृत, नेपाल आर्मीको सूचना अधिकृत, नेपाल टेलिकमको सूचना अधिकृत लगायत अरू अधिकृत स्तरका कुनै पनि पदमा आवेदन दिन नपाउने ती विद्यार्थीको भनाइ छ । उल्लेखित सबै सेवा क्षेत्रमा विज्ञान तथा प्रविधि संकाय अन्तर्गतको विषय पढेको वा इन्जिनियरिङ काउन्सिलमा दर्ता भएको हुनुपर्ने योग्यता राखिएको हुन्छ ।

यसले गर्दा बीसीए पढेका र पढिरहेका हजारौं विद्यार्थीहरूको भविष्य अन्यौलमा परेको छ । यदि सरकारी निकायले नै त्रिविको बीसीएलाई मान्यता नदिने हो भने किन पढ्ने ? भन्ने प्रश्न समेत उठेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *