काठमाडाैंमा हैजाको प्रकोप ९ स्थानमा १० जनामा संक्रमण


काठमाडाैं – काठमाडाैं उपत्यकामा हैजाका बिरामी भेटिने क्रम बढेको छ । पछिल्लो पटक पाटन र नैकापमा पनि हैजाका बिरामी भेटिएसँगै उपत्यकामा फरक-फरक नौ ठाउँमा गरी १० जना हैजाका बिरामी भेटिएका जिल्ला स्वास्थ्य कार्यालय काठमाडाैंले जनाएको छ ।

यसअघि बागबजार, डिल्लीबजार, थानकोट, बालाजु, बल्खु, कपन र सानेपामा हैजाका बिरामी भेटिएका थिए । फरक-फरक ठाउँबाट हैजाका बिरामी भेटिएपछि उपत्यकामा हैजा फैलिएको हुनसक्ने आशङ्कामा बिरामीको खोजी, पानी परीक्षणलगायतका कामलाई तीव्रता दिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता संगीता कौशल मिश्राले बताए ।

हैजाबाट बच्ने तथा रोकथामका उपायकाबारेमा माइकिङ गर्ने लगायतका काम भइरहेको पनि उनले बताए । प्रवक्ता मिश्राले केही पटक पखाला लाग्नासाथ स्वास्थ्य संस्थामा जान पनि अनुरोध गरे ।

हैजा खानपानका माध्यमबाट सर्ने भएकोले पानी उमालेर मात्रै खानुपर्ने, सकेसम्म घरबाहिर गएर नखाने, सरसफाइमा ख्याल गर्ने र घरमा कसैलाई हैजाको लक्षण देखिएमा परिवारका अरू सदस्य पनि सचेत भएर बिरामीलाई अस्पताल लगिहाल्न उनकाे अनुराेध छ ।

प्रतिक्रिया