साउनको पहिलो सोमबार, देशभरका शिवालयमा भक्तजनकाे भीड

काठमाडौं – आज साउन महिनाको पहिलो सोमबार । साउन महिनाको पहिलो सोमबार वैदिक सनातन हिन्दू धर्मावलम्बीले व्रत बसी भगवान् शिवको विधिपूर्वक पूजा आराधना गरी मनाउँछन् ।

हिन्दु परम्परा अनुसार शिवको प्रिय महिनामा साउन र शिवलाई सोमबारको स्वामी भनिन्छ । साउने सोमबारलाई विशेष धार्मिक दिनका रुपमा लिने हिन्दु महिलाहरुले निराहार ब्रत बसी शिवजीको पूजा अराधना गर्दा मनोकांक्षा पूरा हुने, आफू र आफ्नो परिवारको सुस्वास्थ्य, दीर्घायु प्राप्त हुने र घर परिवारमा सुख शान्ति छाउने जनविश्वास रही आएको छ ।

धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्रा. डा. रामचन्द्र गौतम भने सुख, शान्ति एवं समृद्धिका लागि साउन महिना र सोमबार सबैले शिवको उपासना गर्नुपर्ने शास्त्रीय वचन धार्मिक ग्रन्थमा रहेको बताए ।

पहिलो पटक साउने सोमबारको व्रत गर्नेले पाँच वटा सोमबार परेको वर्षबाट सुरु गर्नुपर्छ भन्ने मान्यता समेत रहेकाे छ। विशेष कामनासहित साउनको सोमबारको व्रत गर्नेहरुले अन्तिम सोमबार गोदान, पूर्णपात्र सहित कामना पूर्ण होस् भनी व्रत समापन गर्छन्। यस वर्ष साउनमा पाँच वटा सोमबार परेको छ। साउन २, ९, १६, २३ र ३० गते सोमबार परेको छ।

साउने सोमबारका दिन शिवालयहरुमा भक्तजनको भिड लाग्ने गर्छ । यसका लागि विश्व सम्पदा सूचीमा सूचिकृत आराध्यदेव पशुपतिनाथ मन्दिर परिसरमा बिहान तीन बजेदेखि नै भक्तजनको भीड लागेको थियो। भक्तजनका लागि बिहान तीन बजेदेखि नै चारै ढोका खुला गरेको पशुपति क्षेत्र विकास कोषले जनाएकाे छ ।

आराध्यदेव पशुपतिनाथ मन्दिर परिसरमा विशेष पूजाका लागि साउन महिनामा रु. सात हजार ५ सय भन्दा कमको टिकट नकाटिने कोषले जनाएको छ। कोषले साउन १ गतेदेखि विशेष पूजाको शुल्क रु. एक हजार १०० बाट बढाएर रु. दुई हजार १०० पुर्‍याएको छ।

साउने सोमबारका अवसरमा अन्य शिवालयमा पनि रातो एवं हरियो पहिरनमा सजिएका भक्तजनले भरिभराउ देखिन्छ। गोकर्णेश्वर महादेव मन्दिर, सुन्दरीजल-पशुपतिनाथ बोल बम यात्रा लगायत पेप्सीकोलास्थित नागेश्वर महादेव मन्दिरमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ। राजधानीका वसन्तपुरस्थित सानो पशुपतिनाथ, साँगा भञ्ज्याङको शिव मन्दिरलगायत शिव मन्दिरमा पनि भक्तजनको भीड लागेको छ।

काेटेश्वर महादेवमा भक्तजनकाे भिड

Leave a Reply

Your email address will not be published. Required fields are marked *