स्रोत नखुलेको रकमसहित पक्राउ परेका घ्याल्चेन पुर्पक्षका लागि जेल चलान

काठमाडौं – ४९ लाख ५० हजार ५० रुपियाँसहित पक्राउ परेका धावा घ्याल्चेनलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । गत साउन १८ गते पक्राउ परेका घ्याल्चेनलाई पुर्पक्षका लागि बुधबार कारागार चलान गरिएको प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए ।

प्रवक्ता मैनालीका अनुसार भृकुटीचोकस्थित प्रहरी प्रभाग कपनबाट खटेको प्रहरी टोलीले गरेको चेकिङमा बा.९९ प ७२०४ नम्बरको एनएस मोटरसाइकलमा सवार गोरखा चुमनुब्री १ घर भइ हाल काठमाडौं-६ तीनचुली बंगलामार्ग बस्ने २४ वर्षीय घ्याल्चेनको साथबाट स्रोत नखुलेको ३२ लाख ५० रुपियाँसहित पक्राउ गरिएको थियो ।

घ्याल्चेनसँग सोधपुछ गर्दा आफू बस्ने डेराको कोठामा थप रकम राखेको खुलेपछि प्रहरी बृत्त बौद्ध र प्रभाग कपनबाट खटेको प्रहरी टोलीले खानतलासी गर्दा १७ लाख ५० हजार रुपियाँ फेला पारेको थियो ।

घ्याल्चेनको साथबाट प्रहरीले ४९ लाख ५० हजार ५० रुपियाँ, बा.९९ प ७२०४ नम्बरको एनएस मोटर साइकल एक थान, घ्याल्चेनको सक्कल नागरिकता एक थान, रेड्मी मोबाइल एक थान, झोला एक थान र नीलो प्लास्टिकको झोला एक थान बरामद भएको थियो ।

घटनाको सम्बन्धमा नगदसहित पक्राउ परेका घ्याल्चेनमाथि जिल्ला अदालत काठमाडौंबाट म्याद लिएर प्रहरी परिसर काठमाडौंले थप अनुसन्धान गरी मुद्दा दर्ता भइ भदौ १३ गतेको आदेशले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को कसूर मुद्दामा घ्याल्चेनलाई पुर्पक्षका लागि केन्द्रीय कारागार पठाइएको प्रवक्ता मैनालीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *