सरकारले डेंगु रोग नियन्त्रण अभियान तीव्र पार्ने, यस्ता छन् तयारी


काठमाडौं – सरकारले डेंगु नियन्त्रण र रोकथामका लागि अभियान चलाउने भएको छ । बुधबार मुख्य सचिव शंकरदास वैरागीको नेतृत्वको उच्चस्तरीय समितिको बैठकले यस्तो अभियान चलाउने निर्णय गरेको हो । जसअन्तर्गत डेंगु सार्ने लामखुट्टेको लार्भा खोजिने र नट गर्ने अभियान चलाइने छ ।

बैठकपछि जारी विज्ञप्तिमा डेंगु रोग सार्ने लामखुट्टेको ‘लार्भा खोज र नष्ट गर’ को अभियानलाई तीव्र बनाउन सचेतनामूलक तथा सूचनामूलक श्रव्य तथा श्रव्य-दृश्य सामाग्री तयार गरी विभिन्न तह तथा माध्यमबाट प्रचार प्रसारको व्यवस्था मिलाउने तथा रोग रोकथाम तथा नियन्त्रणका लागि यथाशिघ्र मोवाईल रिङ्गटोन बनाई प्रचार प्रसार गर्ने व्यवस्था मिलाउने उल्लेख छ ।

त्यस्तै रोगको पहिचान तथा उपचारमा कमी हुन नदिन आवश्यक व्यवस्था मिलाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता संजयकुमार ठाकुरले जानकारी दिए । मुख्य सचिव बैरागीको अध्यक्षतामा बसेको बैठकमा स्वास्थ्य तथा जनसंख्या, खानेपानी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव तथा अन्य उच्चपदस्थ पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

बैठकमा नेपालमा हाल देखिएको डेंगु रोगको प्रकोपको प्रतिकार्य, नियन्त्रण तथा रोकथाम सम्बन्धी विषयमा छलफल हुनुका साथै डेंगु रोगको नियन्त्रण तथा रोकथामको कार्ययोजना, सञ्चालन भइरहेका प्रतिकार्य गतिविधिको समिक्षा, नियन्त्रणका लागि भइरहेको तयारीको सम्बन्धमा समेत छलफल भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया