सन्दीप क्यानको सम्पर्क बाहिर


काठमाडौं – नाबालिग युवतीमाथि जबरजस्ती करणी गरेको आरोपमा उजुरी परेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने नेपाल क्रिकेट संघ (क्यान) सँग सम्पर्कमा छैनन् ।

क्यानका सचिव प्रशान्तविक्रम मल्लले सुरुमा सन्दीपले क्यानलाई कानुनी उपचारका लागि सहयोग गर्न र राम्रो वकिल खोज्न आग्रह गरे पनि पछिल्लो समय सम्पर्क बाहिर रहेको बताए ।

जिल्ला अदालत काठमाडौंले बलात्कार गरेको आरोपमा सन्दीपविरुद्ध भदौ २३ गते पक्राउ पुर्जीसमेत जारी गरेको थियो । नेपाल क्रिकेट संघ (क्यान) ले बलात्कार आरोपमाथि छानबिनमा सहयोग गर्न भदौ २३ गते नै सन्दीपलाई कप्तान र राष्ट्रिय टोलीबाट निलम्बन गरेको थियो ।

सन् २०१६ देखि नेपाली राष्ट्रिय टोलीमा परेका सन्दीप इन्डियन प्रिमियर लिग, बिग बास लिग जस्ता अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिग खेल्न पाउने भाग्मानी खेलाडी हुन् । कम उमेरमा खेलेरै करोडपति बनेका सन्दीपलाई क्यानले २०७८ साल मंसिर २९ गते कप्तान नियुक्त गरेको थियो ।

प्रतिक्रिया