हेलिकप्टर दुर्घटनामा युक्रेनका गृृहमन्त्रीसहित १८ जनाको मृत्यु


किभ – युक्रेनमा हेलिकप्टर दुर्घटनामा गृहमन्त्री देनिस मोनास्तिर्स्की लगायत उच्च अधिकारीको मृत्यु भएको छ। दुर्घटनामा १८ जनाको मृत्यु भएको प्रहरीले बुधबार जनाएको छ। यस क्षेत्रका गभर्नरले हेलिकप्टर राजधानी किभ बाहिर विद्यालय नजिकै दुर्घटना भएको जानकारी दिए।

यस दुर्घटनाको भिडियो पनि सार्वजनिक भएको छ, भिडियोमा घटनास्थलमा चिच्याहट सुनिएको छ। चारैतिर आगो लागेको देखिन्छ। किभको क्षेत्रीय प्रशासन प्रमुख ओलेक्सी कुलेबाले भने‚ ‘हेलिकप्टर ब्रोभरी शहरमा किन्डरगार्टन र आवासीय भवन नजिकै दुर्घटनाग्रस्त भयो।’

दुर्घटना हुँदा बालबालिका र विद्यालयका कर्मचारी पनि त्यहाँ थिए। त्यसमा केही विद्यार्थीको मृत्यु पनि भएको छ। प्रहरी र स्वास्थ्यकर्मी घटनास्थल पुगेका छन्। युक्रेनका प्रहरी प्रमुख इगोर क्लेमेन्कोले भने, ‘हेलिकप्टर दुर्घटनामा १६ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा युक्रेनका गृहमन्त्री डेनिस मोनास्तिर्स्की पनि हुनुहुन्छ।’

प्रहरीका अनुसार मृतकमध्ये नौजना हेलिकप्टरमा सवार थिए। मृत्यु हुनेमा दुई बालबालिका रहेका छन्। दुर्घटनामा घाइते भएका १० जनालाई अस्पतालमा भर्ना गरिएको छ। किन्डरगार्टन नजिकै उभिरहेका एक व्यक्ति पनि दुर्घटनामा मारिएका छन्। युद्धरत युक्रेनका लागि यो ठूलो झट्का हो। युक्रेनले अहिलेसम्म यो दुर्घटना वा षड्यन्त्र हो भन्नेबारे केही बताएको छैन।

हेलिकप्टर दुर्घटनास्थल ब्रोभरीमा शहर राजधानी किभबाट करिब २० किलोमिटर उत्तरपूर्वमा पर्छ। गत वर्षको फेब्रुअरी र मार्चमा यो क्षेत्रमा रूसी र युक्रेनी सेनाबीच भीषण युद्ध भएको थियो। अप्रिलमा रूसी सेना उक्त शहरबाट पछि हटेको थियो।

प्रतिक्रिया