हुम्लामा जीप दुर्घटना : पाँच जना गम्भीर घाइते
हुम्ला – हुम्लाको चङ्खेलीमा जीप दुर्घटना हुँदा पाँच जना गम्भीर घाइते भएका छन् । जिल्लाको दक्षिण भेगको चङ्खेली-२ गर्खाबाट देउली बजारतर्फ गइरहेको बोलेरो जिप बुधबार बिहान दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेन्द्र चन्दका अनुसार कर्णाली प्रदेश २००१च ०९२२ नम्बरको जिप मुगु सडकको गौरीसल्लामा दुर्घटना भएको छ । दुर्घटना भएको जिप गौरीसल्लाको मोडमा मोड्ने क्रममा सडकबाट एक सय ५० मिटर तल खसेको थियो ।
चालकसहित सात जना सवार जिपमा पाँच जना सख्त घाइते भएको र दुई जनाको अवस्था सामान्य छ । दुर्घटनामा गम्भीर घाइते भएकामा चङ्खेली गाउँपालिकाका ३५ वर्षीय सुरेन्द्र शाही, ५० वर्षीय तिलबहादुर शाही, १५ वर्षीय रविन शाही र मुगुको छायाँनाथ नगरपालिका-१३ का ४० वर्षीय पृथ्वी रावत र रमेश मल्ल सख्त घाइते छन् ।
बाजुरा बुढीनन्दा नगरपालिका-४ का सावरी चालक महेन्द्रविक्रम शाह र चङ्खेली-२ का मायादेवी शाही सामान्य घाइते भएका छन् । दुर्घटना हुनासाथ मिमी प्रहरीचौकीका प्रहरी सहायक निरीक्षक बालकृष्ण खण्डाको नेतृत्वमा खटिएको सातजनाको टोली घटनास्थलमा पुगेर उनीहरूको उद्धार गरिएको हो ।