बैंकहरूमा पाैने ४ करोड खाता, ५४ अर्बको निक्षेप संकलन


काठमाडाैं – बैंक तथा वित्तीय संस्थाहरूमा ४ करोड ८३ लाख वटा निक्षेप खाता रहेका छन् । वाणिज्य बैंक, विकास बैंक, फाइनान्स र लघुवित्तहरूमा समेत गरेर यस्तो खातामा करीब ५४ खर्ब रुपैयाँ निक्षेप संकलन भएको बैंक तथा वित्तीय संस्थाहरूले जानकारी दिएका छन् ।

बिहीबार ‘क’ देखि ‘घ’ वर्षसम्मका बैंक तथा वित्तीय संस्थाहरूको छाता संस्थाहरूले संयुक्त रूपमा जारी गरेको एक प्रेस विज्ञप्तिअनुसार यस्तो निक्षेपबाट ४८ खर्ब रुपैयाँ कर्जा परिचालन भएको छ । यस्तो कर्जा १८ लाख ऋणीलाई प्रवाह गरेको बैंक तथा वित्तीय संस्थाले बताएका छन् ।

नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा ५३ हजारभन्दा धेरैले प्रत्यक्ष रोजगारी पाएका छन् । बैंक तथा वित्तीय संस्थाहरूले गत आर्थिक वर्षमा राज्यलाई ३४ अर्ब रुपैयाँभन्दा धेरै कर तिरेका थिए । कोभिड संक्रमणमा व्याजदर छुटमार्फत ऋणीहरूलाई प्रत्यक्ष रूपमा १० अर्बभन्दा धेरैको व्याजमा छुट पाएका थिए । देशको दूरदराजमा लघुवित्त संस्थाहरूले झण्डै ६० लाख निक्षेप खाता तथा ३२ लाखभन्दा धेरै ऋणीहरूलाई सेवा प्रदान गर्नुका साथै २३ हजारभन्दा धेरै प्रत्यक्ष रोजगारी समेत प्रदान गरेको छ ।

बैंक/वित्तीय तथा लघुवित्त संस्थाहरूको आफ्ना ग्राहकसँग रहिआएको सुमधुर सम्बन्धलाई एकाध नकारात्मक क्रियाकलापले बिथोल्न खोजेको भन्दै बैंकिङ क्षेत्रका संस्थाहरूले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

बैंक, वित्तीय तथा लघुवित्त संस्थाहरू नियामक निकायद्वारा जारी गरिएको नीति/निर्देशन तथा विभिन्न ऐनको अधिनमा रही बैंकिङ सेवा प्रदान गर्दै आइरहेको हुँदा ग्राहकहरूको हकहित विपरीत काम नहुने पनि बैैंक तथा वित्तीय संस्थाले स्पष्ट पारेका छन् । आगामी दिनमा बैंकिङ क्षेत्रलाई थप सबल र सुदृढ बनाउँदै मुलुकको आर्थिक विकासमा मद्दत गर्न सबै सरोकारवालाको साथ र सहयोगकोे अपेक्षा भएकाले कसैलाई पनि नकारात्मक भ्रम नछर्न यी संस्थाहरूले संयुक्त रूपमा आह्वान गरेका छन् ।

प्रतिक्रिया