युगाण्डाबाट महिला ल्याएर ठमेलमा वेश्यावृत्ति, एक जना पक्राउ

काठमाडौं – अफ्रिकी मुलुक युगाण्डाकी महिलालाई काठमाडौं ल्याएर वेश्यावृत्तिमा लगाउने युगाण्डाकै अर्की महिला काठमाडौंको ठमेलबाट पक्राउ परेकी छन् ।

पर्यटक भिसामा नेपाल आई ठमेलस्थित होटल जर्नी होममा बस्दै आएकी युगाण्डाकी नतसा भनिने इमाकुलेट नाबासुम्बा पक्राउ परेकी हुन् । नेपालमा क्लिनर, वेट्रेस लगायतका काममा मासिक ५ सय अमेरिकी डलर कमाई हुने तथा नेपाल आउने जाने हवाई टिकट, भिषालगायतको खर्च समेतपछि कमाएर तिर्ने शर्तमा निज प्रतिवादीले पीडितलाई गत जनवरी २३ मा हवाई मार्ग हुँदै नेपाल बोलाएर आफू बस्दै गरेको होटेलमा राखेकी थिइन् ।

उनले नेपाली तथा भारतीय मुलका व्यक्तिहरूसँग शारीरिक सम्पर्क गर्नुपर्ने नभए उनी र उनको परिवारलाई मारिदिने सम्मको डर, धम्की दिँदै शारीरिक सम्पर्क गर्न बाध्य पारेको पीडितले बताइएकी छिन् । दिनमै ५–७ जनासँग शारीरिक सम्पर्क गर्न लगाएको एक हप्तापछि पीडित बिरामी भई काम गर्न नसक्ने अवस्था भएपछि प्रतिवादीले होटलबाट निकालेको पीडितले बताइन् ।

त्यसपछि पीडित युगाण्डा फर्कने भनी फेब्रुअरी २६ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्दा प्रतिवादीले निजको हवाई टिकट समेत रद्द गरिदिएको खुल्न आएको छ । त्यसपछि पीडित ब्यूरोमा पुगेर जाहेरी दिएकी थिइन् । पक्राउ परेकी महिला आफैं पनि यौन व्यवसायमा संलग्न रहेको खुलेको छ ।

उनले युगाण्डाबाट अन्य महिलालाई पनि बोलाएर यौन व्यवसायमा लगाउने गरेको अनुसन्धानको क्रममा खुलेको छ । उनले होटलमा ग्राहक नआएको समयमा आफैं नाइट क्लबमा पुगेर ग्राहक ल्याउने गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *