संसदको हिँउदे अधिवेशन अन्त्य
काठमाडाैं – कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले संघीय संसदको हिउँदे अधिवेशन अन्त्य गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेल उपचारको लागि भारत गएपछि कार्यवाहक राष्ट्रपति यादवले अधिवेशन शुक्रबारबाट अन्त्य गरेका हुन् ।
मन्त्रिपरिषद्को सिफारिसका आधारमा यादवले संविधानको धारा ९३(२) बमोजिम शुक्रबार राति बजेदेखि अधिवेशन अन्त्य हुने जनाएका हुन् ।
‘नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८०/०१/१२ को सिफारिसमा संघीय संसद्को दुवै सदनको चालु अधिवेशन संवत् २०८० साल वैशाख १५ गते शुक्रबार राती १२:०० बजेदेखि अन्त्य गरेको छु ।’ कार्यवाहक राष्ट्रपतिले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ ।
४ मंसिरको निर्वाचनपछि प्रतिनिधिसभाका २८ वटा बैठक बसेका छन् । हिउँदे अधिवेशनमा राष्ट्रिय सभाका १९ वटा बैठक बसेका छन् ।
सभामुखले प्रतिनिधि सभाको बैठकमा अधिवेशन स्थगितको सूचना पढेर सुनाउने अभ्यास छ । तर एमालेका फरार सांसद लक्ष्मी कोइरीको विषयमा शुक्रबार सत्तापक्ष र प्रतिपक्षी सांसद विवादमा उत्रिएपछि बैठक आधा घण्टाको लागि भन्दै स्थगित गरिएको थियो ।