कोइराला निवासको चियापानमा नेताहरूको जमघट
काठमाडाैं – राष्ट्रिय सभा निर्वाचनको सन्दर्भ पारेर नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले गृहनगर विराटनगरमा चियापान गरेका छन् ।
माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचन अघि बुधवार शेखरले विराटनगरस्थित कोइराला निवासमा कांग्रेसका नेताहरूको मुख्य उपस्थितिमा चियापान कार्यक्रमको आयोजना गरेका हुन् ।
चियापानमा पार्टीका सबै समूहका नेताहरू सहभागी भएका छन् । जहाँ कांग्रेसका केन्द्रीय नेता, सांसद, प्रदेश सांसद, नगरपालिकामा प्रमुख र उपप्रमुख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षसहितका नेताहरू सहभागी भएका थिए ।
कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यका उम्मेदवार कृष्णप्रसाद सिटौला, कांग्रेस महामन्त्री गगन थापासहितका दर्जनौं नेता–कार्यकर्ता सहभागी भएका छन् । पछिल्लो समय शेखरले आफ्नो समूहलाई थप बलियो रहेको सन्देश दिने गरी कार्यक्रम गर्दै आएका छन् ।