माओवादी संसदीय दलको बैठक बस्दै


काठमाडौं – नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै छ । आज (बुधबार) दिउँसो २ बजे दलकै कार्यालयमा बस्ने बैठकमा यही असार २८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लिने विश्वासको मतबारे छलफल हुनेछ ।

यसअघि माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारमा रहेको नेकपा एमाले सरकारबाट बाहिरिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने भएको हो । आजको बैठकमा सोही विषयमा छलफल हुनेछ । एमालेले माओवादीसँगको गठबन्धन छाडेर नेपाली कांग्रेससँग मिलेर नयाँ सरकार बनाउँदै छ ।

यसका लागि कांग्रेस र एमालेबीच सहमति भइसकेपछि एमालेका मन्त्रीहरूले राजीनामा दिएर सरकारबाट बाहिरिएका हुन् । यता, एमालेका मन्त्रीहरू सरकारबाट बाहिरिएसँगै अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का मन्त्रीहरू पनि सरकारबाट बाहिरिएका छन् ।

माओवादी केन्द्रको आज हुने संसदीय दलको बैठकमा विश्वासको मतलगायत अन्य समयसामयिक परिस्थितिबारे छलफल हुने पार्टीका एक नेताले जानकारी दिए ।

प्रतिक्रिया