विश्वासको मत लिँदै प्रधानमन्त्री, दुई तिहाईको समर्थन


काठमाडाैं – नेपाली कांग्रेसको समर्थनमा गएको असार ३० गते प्रधानमन्त्री बनेका केपी ओलीले आज (आइतबार) विश्वासको मत लिँदै छन् । सत्तापक्षका मुख्य सचेतक महेश बर्तौलाका अनुसार प्रधानमन्त्रीले दुईतिहाइभन्दा बढी मत पानेछन् ।

बर्तौलाका अनुसार सरकारमा सहभागी चार दलसहित जनमत, जसपा नेपाल, नागरिक उन्मुक्ति पार्टी, दुई स्वतन्त्र सांसद (अमशेरकुमार सिंह र योगेन्द्र मण्डल) बाट विश्वासको मत प्राप्त हुने निश्चित भएको छ ।

उनलाई प्रमुख दल नेपाली कांग्रेसको ८८, नेकपा (एमाले) को ७८, अशोक राई नेतृत्वको जसपा सात, जनमत पार्टी छ, उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल पाँच, लोसपा चार, नागरिक उन्मुक्ति पार्टी चार, स्वतन्त्र दुई गरी एक सय ९४ मत पक्षमा आउने देखिन्छ ।

नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा (एकीकृत समाजवादी) र राप्रपाले प्रधानमन्त्रीलाई विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन् । संसदमा प्रतिनिधित्व गर्ने साना दल नेमकिपा एक, राष्ट्रिय जनमोर्चा एक, प्रभु साह (स्वतन्त्र) एकले मत कता दिने भन्ने विषयमा निर्णय गर्न बाँकी छ ।

नेकपा (एमाले) ले आफ्नो दलका सांसदलाई प्रधानमन्त्री ओलीको पक्षमा मतदान गर्न ह्विप जारी गरिसकेको छ । असार १७ गते राति कांग्रेस र एमालेबीच सत्ता साझेदारी गर्ने सात बुँदे सहमति भएको थियो । प्रमुख दुई दलबीच संविधान संशोधनलगायतको विषयमा सहमति भएको भनिए पनि सहमतिपत्र अहिलेसम्म सार्वजनिक भएको छैन ।

प्रतिक्रिया