‘वृद्ध भत्ताका लागि ६८ वर्षकाे उमेर हद बनाउन अन्य केही छ लजिक ?’


काठमाडाैं – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव केन्द्रित भएरै वृद्ध भत्ताका लागि उमेर हद बनाएको आरोप लगाएका छन् । सरकारले वृद्ध भत्ताका लागि ७० वर्षबाट ६८ वर्ष राख्नु चुनावबाहेक अन्य कुनै कारण नभएको बताएका हुन् ।

आज शुक्रवार पार्टीको नीति तथा अनुसन्धान प्रतिष्ठानले काठमाडाैंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस सम्बन्धमा त्यसबाहेक अन्य कुनै ‘लजिक’ छ भनी सरकारलाई प्रश्नसमेत गरे । उनले भने, ‘अहिले ७० बाट ६८ बनाउनुको इज दियर एनि लजिक ? चुनाव आउँदैछ भन्नेबाहेक अन्य केही छ लजिक ? यतापट्टि धेरै नजाऊ । अहिले त मैले धेरै कुरा भनिरहनु पर्लाजस्तो लाग्दैन ।’

अध्यक्ष ओलीले कांग्रेस नेतृत्वको विगतका सरकारप्रति सङ्केत गर्दै देशको उद्योग धन्दा निजी क्षेत्रलाई कौडीको मूल्यमा बेचेर देशलाई कङ्गाल बनाएको पनि आराेप लगाए । उनले आफू नेतृत्वको अघिल्लो सरकारले निजी क्षेत्रलाई साथ लिएर कृषि क्षेत्रको उत्पादन वृद्धि र राष्ट्रिय उद्योगहरूको प्रवर्द्धनलाई बढावा दिने नीति लिएको दाबी गरे।

ओलीले आफू नेतृत्वको अघिल्लो सरकारले देशकाे समृद्धिका लागि स्पष्ट बाटो लिएको स्मरण गर्न पनि विज्ञहरूलाई आग्रह गरे। ओलीको सम्बोधन जारी छ ।

प्रतिक्रिया