विमान दुर्घटनामा ज्यान गुमाएकाको शव परीक्षण सुरु

आज राष्ट्रिय झण्डा आधा झुकाइने


काठमाडाैं – सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परी ज्यान गुमाएकाको शव परीक्षण सुरु भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा मृतक १८ जनाको शव परीक्षण सुरु भएको हो ।

अस्पतालका फरेन्सिक मेडिसिन विभागका प्रमुख डा.गोपालप्रसाद चौधरीले हिजो चार वटा शव परीक्षण गरेर शवको पहिचानको काम सुरु गरिएको जानकारी दिए । उनले भने, ‘एक जनाको शव परीक्षण गर्न चार घण्टा लाग्छ’ । अस्पतालमा जनशक्ति कम भएकाले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, भक्तपुर अस्पताल, धुलिखेल अस्पताल, पोखराबाट समेत डाक्टरहरु बोलाइएको उनले जानकारी दिए ।

मृतकका आफन्तले उपलब्ध गराएको विवरण अनुसार म्याचिङ गरेर सबै शवको पहिचान ७२ घण्टाभित्र गर्ने उनले बताए । शव पहिचानका लागि फिङ्गर प्रिन्ट, दाँतको विवरण, हुलिया र डीएनए परीक्षण विधि अपनाइन्छ । उनले फिङ्गर प्रिन्ट, दाँतको विवरण, हुलिया विधिबाट शव पहिचान नभए अन्तिममा डीएनए विधिबाट शव पहिचान गर्ने बताए । डीएनए विधिबाट शव पहिचान गर्न कम्तीमा दुई हप्ता लाग्ने उनको भनाइ छ ।

यसैबीच सरकारले विमान दुर्घटनाबारे छानबिन गर्न पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ । हिजो बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको अध्यक्षतामा आयोग गठन गरेको हो ।

आयोगको सदस्यमा नेपाल वायुसेवा निगमका क्याप्टेन दिपुराज ज्वार्चन, पुल्चोक क्याम्पसका प्राध्यापक कुलदीप भट्टराई, श्री एयरलाइन्सका इञ्जिनियर सञ्जय अधिकारी रहेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एयर ट्राफिक कन्ट्रोलर (एटीसी) अधिकृत मुकेश डङ्गोल सदस्य सचिव रहेका छन् । आयोगलाई ४५ दिनभित्र प्रतिवेदन पेस गर्न समय दिइएको छ ।

यस्तै सरकारले विमान दुर्घटनाको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय पनि भएको छ । हिजो बिहान काठमाडाैंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमान विमानस्थल क्षेत्रमा दुर्घटना हुँदा १८ जनाको ज्यान गएको हो । विमानका पाइलट मनिष शाक्य घाइते भएका छन् । उनको सिनामङ्गलमा रहेको केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया