अवैध लागूऔषधसहित पाँच जना पक्राउ


काठमाडौं – अवैध लागूऔषधसहित विभिन्न स्थानबाट पाँच जना पक्राउ परेका छन् । कैलाली गौरीगंगा नगरपालिका-२ बस्ने २१ वर्षीय गणेश सिघाललाई काठमाडौंको नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ ग्रामसहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त थानकोट र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले धनगढीबाट काठमाडौंतर्फ आउँदै गरेको ना.८ ख ६९४८ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार सिघाललाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यस्तै झापा भद्रपुर नगरपालिका-५ मेचीपुलबाट अवैध लागूऔषध गाँजा ३२ ग्राम ५ सय मिलिग्राम र अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ४० मिलिग्रामसहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भद्रपुर नगरपालिका-९ बस्ने २१ वर्षीय राज कुमार राजवंशी र भारत सिक्किम राज्य नाम्ची घर बताउने २७ वर्षीय सन्तोष राई रहेका छन् । मेचीपुल बिटबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

साथै भोजपुर नगरपालिका-७ भोजपुर बजारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १८ ट्याब्लेट र कोलिवान १६ ट्याब्लेट सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भोजपुर नगरपालिका-९ बस्ने २० वर्षीय अर्पण राई र २० वर्षीय रेन्जी शेर्पा रहेका छन् । जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले बा.प्र. ३ -००५ प ५३५५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

प्रतिक्रिया