साउने सोमबारः शिवजीको व्रत, पूजा आराधना एवं दर्शनकाे महत्व

काठमाडाैं – महिनामा साउन र बारमा सोमबार भगवान् शिवको बार भएकाले यस दिन शिवजीको व्रत, पूजा आराधना एवं दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक मान्यता छ । साउन महिना धार्मिक, प्राकृतिक एवं सांस्कृतिक दृष्टिकोणले महत्वपूर्ण भएकाले यो महिनालाई विशेष रूपमा लिइन्छ ।

पार्वतीले साउन महिनाभरि निराहर रही कठोर व्रत बसेर भगवान शिवलाई प्राप्त गरेको किम्वदन्ती अनुसार साउनको महिना व्रत बसी शिवको पूजा गरे आफू, श्रीमान, सन्तान एवं परिवार सबैको कल्याण हुने विश्वास हिन्दु धर्मावलम्वी महिलाहरूमा पाइन्छ । महिनाको अरू दिन नसके पनि सोमबार व्रत बसी शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ ।

ज्योतिषशास्त्रअनुसार सोमवारको स्वामी भगवान् शिव भएकाले यो दिनको शिवोपासना विशेष मानिन्छ। अझ यो महिनाको सोमवार गरिने शिवको व्रत पूजा विशेष फलदायी हुने मान्यता छ । यस दिन आफू र आफ्नो परिवारको सुस्वास्थ्य, दीर्घायु एव विभिन्न कामना गर्दै व्रत बस्ने परम्परा छ। हस्ता नक्षत्रयुक्त सोमवारको व्रतको प्रभावले पार्वतीले महादेव स्वामी पाएको प्रसंग पुराणमा पाइन्छ।

हिन्दू धर्ममा साउनलाई धर्मकर्मको महिना भनिन्छ । यो महिनामा व्रत, दान, पूजापाठ आदि गर्दा धेरै गुना बढी फल प्राप्त हुन्छ भन्ने विश्वास गरिन्छ । व्रत गरेको दिन बेलुका एकपटक सात्विक भोजन गर्नुपर्छ । यसरी व्रत बस्दा सारा समस्या समाधान हुने जनविश्वास छ ।

साउने सोमवारका दिन देशभरिका शिवालायहरूमा भक्तजनको भीड लाग्छ। काठमाडौंकाे पशुतिनाथ, कोटेश्वर, ललितपुरको कुम्भेश्वर, सन्तानेश्वर महादेव, खोटाङ हलेसी महादेव, महोत्तरी जलेश्वर, म्याग्दीको गलेश्वर, धरानको पिण्डेश्वर काभ्रेको धनेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, रसुवाको गोसाइँकुण्ड, नुवाकोटको दुप्चेस्वर लगायतका शिवालयहरूमा भक्तजनकाे घुइँचो हुन्छ। केही वर्षयता बोलबम यात्रा पनि चल्ने गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *