न्युयोर्ककाे नेपाली समुदायमा कोरोना विरूद्द तेस्रो चरणको खोप अभियान जारी


न्युयोर्क – गिरिजाप्रसाद कोईराला फाउन्डेशन अमेरिका च्याप्टरको संयोजन र क्विन्स हस्पिटल जमैका सँगको समन्वयमा तेस्रो चरणको कोरोनाविरूद्द खोप कार्यक्रम सम्पन्न भएको छ। न्युयोर्क र आसपासमा रहेका नेपाली लगायत विभिन्न समुदायका १३७ जनालाई कोरोना भाइरसबाट सुरक्षित रहन भ्याक्सिन लगाइएको हो।

फाउण्डेशनले अप्रिलको अन्तिम साता सम्म क्रमशः हरेक शनिवारका दिन बिहान १० देखि साँझ ५ बजे सम्म खोप वितरण गर्ने कार्यक्रमका संयोजक समेत रहेका संस्थाका महासचिव छिरिङ राप्के लामाले जानकारी दिए। यसका लागि प्रत्येक हप्ताको बुधवार ३ बजेसम्म संस्थाबाट उपलब्ध फारम भरी फाउण्डेशनकै कार्यालय वुडसाईड न्युयोर्कमा वुझाउनु पर्ने उनले बताए।

कार्यक्रममा संस्थाका कार्यवाहक अध्यक्ष सुवर्ण लामा,महासचिव छिरीगं राप्के लामा,कार्यसमिती सदस्य एवं प्रवक्ता रामचन्द्र अधिकारी,कार्यसमिती सदस्य सुर्य सिंखडा र कार्यसमिती सदस्य ध्रुव कुँवर क्षेत्री विशेष स्वयंसेवकको रूपमा खटिएका थिए। कार्यक्रममा अस्पताल प्रशासनको सहयोगमा आगन्तुकहरूलाई लाईन व्यवस्थापन गर्ने, अनलाईन प्रश्न भरीदिने र भाषिक समस्यामा सहजीकरण गर्ने लगायतका कामहरूमा फाउण्डेशनका स्वयंसेवकहरुले सहयोग गरेका थिए।

अमेरिकामा पहिलोपटक गिरिजा प्रसाद कोईराला फाउण्डेसन अमेरिका च्याप्टरले कोभिड-१९ को खोप कार्यक्रमको एक महिने अभियान संचालन गरेको हाे । यसै कार्यक्रम मार्फत अहिले सात सय भन्दा बढी नेपालीलाई खोप लगाउन सफल भएको प्रवक्ता अधिकारीले बताए । फाउण्डेशनले अमेरिकामा नेपाली समुदाय बीच विभिन्न सामाजिक काम गर्दै आएको छ।

प्रतिक्रिया