उत्तराखण्ड पहिरो अपडेट : तीन नेपालीको शव फेला, ११ जना अझै वेपत्ता


काठमाडौं – चार दिनअघि भारतको उत्तराखण्ड राज्यमा पर्ने रूद्रप्रयागको गौरीकुण्डमा बेपत्ता भएकाहरुको खोजी कार्य तीव्र पारिएको छ । उक्त स्थानमा नेपालीले सञ्चालन गरेका तीन होटल पहिरोले बगाएको थियो ।

सो क्रममा कालिकोटका तीन पुरुषको शव भारतीय प्रहरीले फेला पारेको थियो । कालिकोटको मान्मका टेकबहादुर कामी, प्रकाश कामी र देवी कामीको शव भेटिएको थियो ।

भारतको राजधानी नयाँ दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत नेपाल प्रहरीका बरिष्ठ प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले ११ नेपाली अझै हराइरहेको जानकारी दिए । लगातारको वर्षा कारण मन्दाकिनी नदीमा पानीको मात्रा बढेकाले खोजीमा समस्या भइरहेको उनको भनाइ छ ।

सो क्षेत्रमा लामो समयदेखि सयौँ नेपाली नागरिक घोडा चालक, होटल व्यवसाय तथा मजदुरी गरी जीविका चलाउँदै आएका छन् । बेपत्ता भएकाहरु सबै जुम्ला घर भएकाहरु रहेको दूतावासले जनाएको छ ।

प्रतिक्रिया