पहिरोले होटल बगाउँदा केदारनाथमा १७ नेपाली बेपत्ता


काठमाडौं – पहिरोले होटल बगाउँदा भारतको उत्तराखण्डमा १७ नेपाली बेपत्ता भएका छन् । बेपत्ता हुनेमा कर्णाली प्रदेशको जुम्ला र हुम्लाका मात्रै १० जना छन् ।

केदारनाथ प्रवेश गर्ने सडक खण्डको रुद्रप्रयागमा पहिरोले होटल बगाउँदा १७ नेपाली बेपत्ता भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बेपत्ता हुनेमा जुम्लाका चन्द्र कामी, उनका छोरा लालबहादुर कामी, सुखरा रावत र उनका छोरा जोरा रावतलगायत छन् ।

हुम्लाका वीरबहादुरले गौरीकुण्डमा होटल सञ्चालन गर्दै आएका थिए । उनको होटलमा खाना खान गएका बेला पहिरोले होटल बगाएको हो । पहिरोमा परेर होटल सञ्चालक वीरबहादुर उनकी श्रीमती सुमित्रा, छोरी निशा र छोरा हरिबहादुर पनि बेपत्ता भएका छन् । उनीहरूको थर भने खुलेको छैन । वीरबहादुरकै होटलमा खाना खान गएका धर्मराज बुढा र उनका छोरा मानबहादुर बुढा पनि बेपत्ता छन् ।

पहिरोमा परी अमर बोहरा, उनका छोराहरू मानबहादुर, पृथ्वी, जटिल र वकिल, श्रीमती अनिता, छोरीद्वय राधिका र पिंकी पनि बेपत्ता भएका छन् । तर, उनीहरू कुन ठाउँका हुन्न् भन्ने अझै खुलेको छैन । बेपत्ता सबैको खोजी भइरहेको उत्तराखण्ड प्रहरीले जनाएको छ । यो क्षेत्रमा भारी वर्षा भइरहेकाले उद्दार तथा खोजीमा कठिनाइ भएको बताइएको छ ।

प्रतिक्रिया