सुडानको शान्ति मिसन क्याम्पमा आक्रमण : ५२ को मृत्यु, नेपाली टोली सुरक्षित


काठमाडौं – दक्षिण सुडानको अबे क्षेत्रमा हतियारधारी समूहले आक्रमण गर्दा संयुक्त राष्ट्र संघको शान्ति मिसनको एक सदस्यसहित ५२ जना सर्वसाधारणको मृत्यु भएको छ । अन्य ६४ जना घाइते भएका छन् ।

बन्दुकधारीको समूहले २७ जनवरी शनिबारको दिन श्रृङ्खलाबद्ध आक्रमण गरेको थियो । न्यिनकुआक, मजबोङ र खादियन क्षेत्रमा साम्प्रदायिक हिंसा भएको थियो । हतियारधारी समूहले अगोकमा रहेको संयुक्त राष्ट्र संघको अन्तरिम सुरक्षा बलको क्याम्पमा समेत आक्रमण गरेको थियो । ती आक्रमणमा परी ५२ जनाको मृत्यु भएको समाचार एजेन्सी एपीले जनाएको छ ।

अबेईका लागि संयुक्त राष्ट्र संघको अन्तरिम सुरक्षा बलले पनि बन्दुकधारीको आक्रमणबाट शान्ति मिसनमा खटिएका घानाका एक जना सदस्यको मृत्यु भएको पुष्टि गरेको छ । ‘सो आक्रमणलाई शान्ति सैनिकको टोलीले विफल पारेको थियो । तर दुःखका साथ भन्नु परेको छ आक्रमणमा परी शान्ति मिसनमा खटिएका घानाका एक जना सैनिकको मृत्यु भयो,’ संयुक्त राष्ट्र संघको अन्तरिम सुरक्षा बलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उसले आक्रमणको निन्दा पनि गरेको छ । साम्प्रदायिक दङ्गा भइरहने अबे क्षेत्रमा नेपाली शान्ति सैनिकको ९७ जनाको टोली पनि खटिएको छ । तर नेपाली टोली सुरक्षित रहेको नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया