अष्ट्रेलियाले रोक्यो गोल्डन भिसाको आवेदन


सिड्नी – अष्ट्रेलियाले गोल्डन भिसामा आवेदन लिन बन्द गरेको छ । अष्ट्रेलियामा ३३ लाख डलर (झन्डै ४३ करोड ९६ लाख) भन्दा बढी लगानी गर्नेलाई त्यहाँको अध्यागमन विभागले गोल्डन भिसा दिँदै आएको थियो ।

अध्यागन नीतिमा व्यापक हेरफेर गर्ने योजनाको हिस्सा अन्तर्गत यो कदम चालिएको हो । अहिलेका लागि यो भिसामा सबै आवेदन रोकिएको छ । सरकारले अध्यागमन प्रणालीको कयौँ पक्षमा परिवर्तन गर्न खोजिरहेको छ ।

गृह मामिला मन्त्री क्लेर ओ’निलका अनुसार गोल्डन भिसामा लगाइएको रोक पनि यसैको एउटा पाटो भएको बताएका छन् । धनाढ्यहरुले यस्तो खालको भिसाको दुरुपयोग गरेको र देशहरुलाई यसबाट लाभ नभएको भन्दै अष्ट्रेलियाको गोल्डन भिसा जस्तै खालका अन्य लगानी भिसाहरुको विश्वभर आलोचना भइरहेको छ ।

यसमा एउटा मुख्य समस्या चाँहि अधिकांश लगानी उत्पादनमुलक क्षेत्रमा भन्दा पनि घरजग्गाको क्षेत्रमा जाने गरेको छ । गोल्डन भिसाले देश र अर्थतन्त्रलाई चाहिएको अध्यागमन प्रणालीको विकास नगरेको वर्षौदेखि प्रष्ट भएको ओ’निलले विज्ञप्तिमा भनेका छन् । आप्रवासीहरुको आगमन घटाएर कोभिड पूर्वकै स्तरमा ल्याउन डिसेम्बरमा अष्ट्रेलिया सरकारले नयाँ अध्यागमन नीति सार्वजनिक गरेको थियो ।

यसमा विद्यार्थी भिसाको दुरुपयोगमा कडाइ गर्ने र अर्थतन्त्रमा देखिएको अन्तर पुर्न दक्ष सिप भएका आप्रवासीहरुलाई आकर्षित गर्ने योजना थियो । सामेबार अष्ट्रेलियाको एउटा पत्रिकाले ‘सिग्निफिकेन्ट भिसा श्रेणी’ खारेज गरिने समाचार छापेको थियो ।

प्रतिक्रिया