मुख्यमन्त्री शाहीले विश्वासको मत पाएपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने


सुर्खेत – कर्णाली प्रदेशमा सत्ता गठबन्धन दलका नेताहरु मुख्यमन्त्री जीवनबहादुर शाहीलाई मुख्यमन्त्रीमा मतदान गरिसकेपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने निष्कर्ष पुगेका छन् । यही मंसिर १४ गते मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि कर्णाली प्रदेश प्रमुखको कार्यालय सुर्खेतले मंसिर १ गते प्रदेशसभा सचिवालयमार्फत बैठकको आह्वान गरिसकेको छ ।

मुख्यमन्त्री नियुक्तिको १४ दिनपछि कात्तिक ३० गते नेकपा (एकीकृत समाजवादी) पार्टी प्रदेशसभा दलका नेता चन्द्रबहादुर शाहीलाई भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा नियुक्त गरेर एक सदस्यीय मन्त्रिपरिषद् विस्तार भएता पनि त्यसयता सरकार गठनका विषयमा कुनै छलफल हुन सकेको छैन ।

मन्त्रिपरिषद् विस्तार ढिलाइ हुनुमा सबै पार्टीका अधिवेशन, भेला, प्रशिक्षण र सत्ता गठबन्धन दलभित्रै मन्त्रालय बाँडफाँटको कुरा निष्कर्षमा आउन नसकेको नेकपा (एकीकृत समाजवादी) प्रदेशसभा दलका नेता शाहीले जानकारी दिए । मुलुकको राजनीतिक अवस्थामा यो ठाउँमा आउनुमा कर्णाली र त्यसमा एकीकृत समाजवादीका चार प्रदेशसभा सदस्यको कुर्वानीले भएको जिकिर गर्दै उनले आफ्नो पार्टीले तीन मन्त्रालयको दाबी नछाड्ने जनाए ।

निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गत वैशाख ३ गते सत्ता गठबन्धन दलसँग गरेको भद्र सहमतिमै रहेर गत कात्तिक १५ गते मुख्यमन्त्री पदबाट राजीनामा दिएलगत्तै १६ गते शाही मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

प्रतिक्रिया