राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीमा प्रचण्डको दाबी पेश, शपथ कहिले ?


काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्री बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दाबी पेश गरिएको छ। नेकपा एमालेसहित दलहरुका शीर्षनेताहरु बहुमत सांसदको समर्थन लिएर प्रचण्डलाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिसमक्ष दाबी पेश गरेका हुन्।

बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकमा प्रधानमन्त्रीमा सहमति नजुटेपछि आइतबार दिउँसो बालकोटमा एमाले र माओवादी केन्द्र लगायत दलहरुबीच प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति जुटेको हो। दाबी पेश गरे पनि प्रधानमन्त्रीको शपथ आजै हुने सम्भावना कम रहेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।

सरकार गठन गर्न १३८ सांसद भए बहुमत पुग्छ। यद्यपी प्रचण्डलाई १६६ सांसदको समर्थन रहेको छ। प्रचण्डको नेतृत्वमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी,जनमत पार्टी र नागरिक उन्‍मुक्ति पार्टीको समर्थनमा सरकार बन्नेमा सहमति जुटेको हो।

राष्ट्रपतिले तोकेको समयसीमा भित्र पहिलो दल बनेको कांग्रेसले सरकार गठन गर्न नसकेपछि एमालेले अग्रसरता लिएको हो। राष्ट्रपति भण्डारीले प्रधानमन्त्री दाबी गर्न आज ५ बजेसम्मको समय तोकेकी छन्। अन्तिम समयमा आएर दलहरुले बहुमत पुर्‍याएका हुन्।

प्रतिक्रिया