संघीय संसद्को पहिलो अधिवेशनको सम्पूर्ण तयारी पूरा


काठमाडौं – २५ पुस (भोलि) अपराह्न एक बजेका लागि आह्वान गरिएको संघीय संसद्को पहिलो अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ। संघीय संसद्अन्तर्गतको प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवैको बैठक भोलि एकसाथ बस्दै छ।

प्रतिनिधिसभा बैठकका लागि सर्वदलीय बैठक र राष्ट्रिय सभा बैठकका लागि कार्य व्यवस्था परामर्श समितिको बैठक बसेर पहिलो अधिवेशनका लागि आवश्यक निर्णय गरिएको र सोही बैठकको निर्णयअनुसार संघीय संसद् सचिवालयले आवश्यक व्यवस्था मिलाएको सहायक प्रवक्ता दशरथ धमलाको भनाइ छ।

संघीय संसद् सचिवालयले सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरूलाई दलीय प्रतिनिधित्वको आधारमा बस्न मिल्ने गरी सिटको व्यवस्था गरिएको पनि जानकारी गराएको छ। तर, स्थान अभावका कारण सबै दलका संसदीय दलका नेताहरूलाई पहिलो लहरमा राख्ने गरी सिटको व्यवस्था भने गर्न नसकिएको सहायक प्रवक्ता धमलाले बताए।

संघीय संसदमा १२ वटा राजनीतिक दलहरूको प्रतिनिधित्व छ। सचिवालयका अनुसार अधिवेशनमा सबै दलका संसदीय दलका शीर्ष नेताहरूले बोल्ने कार्यसूची तय गरिएको छ। संघीय संसदमा सांसदहरूले पनि इ–हाजिरी गर्ने व्यवस्था मिलाइएको छ।

प्रतिक्रिया