एसईई आजदेखि सुरू, पाँच लाख परीक्षार्थी सहभागी हुँदै
काठमाडाैं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरू हुँदैछ । परीक्षा आजदेखि चैत २७ गतेसम्म सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
यस वर्षका लागि परीक्षाको अन्तिम तयारी पूरा भएको, प्रश्नपत्र र उत्तरपुस्तिका जिल्ला–जिल्ला पुर्याइएको जानकारी दिँदै परीक्षालाई शान्तिपूर्णरुपमा सम्पन्न गर्न बोर्डका अध्यक्ष महाश्रम शर्माले सबैलाई आह्वान गरेका छन् । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने छ ।
एसईईलाई व्यवस्थित, मर्यादित, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न परीक्षामा खटिने केन्द्राध्यक्षलगायत जनशक्तिलाई अभिमुखीकरण गरेको बोर्डले जनाएको छ । परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार आठ सय छ वटा विद्यालयका पाँच लाख चार हजार चार सय १४ परीक्षार्थी सहभागी हुने एसईर्ई परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए ।
परीक्षाका लागि कार्यालयले दुई हजार ६४ वटा परीक्षा केन्द्र निर्धारण गरेको छ । सबैभन्दा कम मनाङ र मुस्ताङमा एक/एक तथा सबैभन्दा बढी काठमाडाैंमा एक सय २७ वटा परीक्षा केन्द्र छन् ।
यस वर्षको एसईईमा जापानमा रहेको केन्द्रमा २३ जना सहभागी हुने केन्द्रले जनाएको छ । यस वर्षदेखि ‘लेटर ग्रेडिङ निर्देशिका २०७८’ लागू भएकाले कक्षा ११ मा भर्ना हुनका लागि सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० अंक ल्याउनैपर्छ ।