एसइई नतिजा सार्वजनिक : ५२ प्रतिशत विद्यार्थी अनुत्तीर्ण

करिब ४८ प्रतिशतले कक्षा ११ पढ्न पाउने


काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ । आज (बिहीबार) बिहान बसेको बोर्ड बैठकको निर्णयसँगै नतिजा सार्वजनिक भइसकेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।

आज सार्वजनिक भएको नतिजा अनुसार ५२ प्रतिशत अर्थात दुई लाख ४२ हजार ९२ जना अनुत्तीर्ण (ननग्रेड) भएका छन् । नतिजा अनुसार १८६ जनाले चार जीपए ल्याएका छन् । अध्यक्ष शर्माका अनुसार २२१ जनाको परीक्षा रद्द गरिएको छ । यो पटक बोर्डले नयाँ ‘लेटर ग्रेडिङ’ प्रणाली अनुसार नतिजा सार्वजनिक गरेको हो ।

उनका अनुसार केही समयपछि परीक्षार्थीहरूले नतिजा हेर्न सक्ने छन् । परीक्षा बोर्डले हिजो नै नतिजा सार्वजनिक गर्ने तयारी गरेको थियो । बोर्ड बैठक पनि बस्यो । तर, आन्तरिक तयारी नसकिएपछि नतिजा सार्वजनिक हुन सकेको थिएन । गत चैत १५ गतेदेखि शुरु भएको एसइईमा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए ।

बोर्डले एसइई नतिजा कसरी र कहाँबाट हेर्ने भनी सार्वजनिक सूचना नै जारी गरेर जानकारी दिइसकेको छ । एसइई नतिजा वेबसाइट, एसएमएस र आइभिआरबाट हेर्न सकिने छ । नेपाल टेलिकमले पनि नतिजा हेर्नका लागि सार्वजनिक सूचना नै जारी गरेर जानकारी दिएको छ।

आइभिआरका लागि नेपाल टेलिकमको ल्याण्ड लाइन फोन, मोबाइलबाट १६०० डायल प्राप्त निर्देशनअनुसार गर्नुपर्ने छ । एसएमएसको लागि मोबाइलको म्यासेज बक्समा SEE<space> <symbol number> टाइप गरी १६०० मा पठाउनुपर्ने छ । वेबसाइटको लागि Website: http://see.ntc.net.np मार्फत हेर्न सकिने छ।

प्रतिक्रिया