आजको माैसम : कोशी, बाग्मती र गण्डकी प्रदेशमा दिनभर वर्षाको सम्भावना


काठमाडाैं – हाल कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको केही स्थानहरुमा हल्का वर्षा भईरहेको छ । आज देशभर आंशिक देखि साधारणतया बदली रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बाग्मती र गण्डकी प्रदेशका धेरै ठाउँमा रातिदेखि पानी परेको छ । काठमाडाैं, ललितपुर, भक्तपुर, धादिङ, काभ्रे, मकवानपुर, तनहुँ, चितवन, गोरखा लगायतका जिल्लाहरुमा पानी परेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै चितवनको कालिखोलामा ५१ मिलिमिटर र तनहुँको बन्दीपुरमा ५० मिलिमिटर पानी परेको छ । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसले देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखी मध्यम वर्षा तथा देशको बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

वर्षा र हिमपातको सम्भावना रहेको हुँदा त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाको अनुरोध छ ।

प्रतिक्रिया