पर्यटन क्षेत्रसँगै देशको अर्थतन्त्रमा ठमेल र दरबारमार्गले सहयोग गर्ने अपेक्षा


काठमाडाैं – काठमाडाैंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल र दरबारमार्ग क्षेत्र चौबीसै घण्टा खुला भएका छन् । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले हिजो ठमेलको त्रिदेवीमार्गमा गरेको कार्यक्रममा चौबीसै घण्टा बजार सञ्चालनको शुभारम्भ गरेका हुन् ।

ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग विकास बोर्डले गरेको कार्यक्रममा गृहमन्त्री लामिछानेले ठमेल र दरबारमार्गको पर्यटनलाई चलायमान बनाउँदै देशको अर्थतन्त्रलाई सहयोग पुर्‍याउनका लागि चौबीसै घण्टा बजार खुला गरिएको बताए । उनले पर्यटन र ठमेल पर्यायवाची भएकाले यसलाई जोगाउन सबै लाग्नुपर्नेमा जोड दिए ।

काठमाडाैं महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले चौबीसै घण्टा ठमेल र दरबारमार्ग सञ्चालन हुँदा देशको अर्थतन्त्रमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

यस्तै काठमाडाैं महानगर-२६ का वडाध्यक्ष ख्यामराज तिवारीले जिल्ला प्रशासन कार्यालयबाट जारी भएको आचारसंहितालाई कार्यान्वयन गर्न जोड दिए । ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले कोरोना महामारीपछि शिथिल रहेको ठमेल र दरबारमार्ग क्षेत्रको आर्थिक अवस्थालाई चलायमान बनाउन अभियानले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

दरबारमार्ग विकास बोर्डका संयोजक सञ्जय अधिकारीले १० वर्षदेखि ठमेल र दरबारमार्ग चौबीसै घण्टा सञ्चालन गर्ने योजना रहेकोमा बल्ल अगाडि बढेको बताए । उनले यो अभियानलाई विस्तारै काठमाडाैंका अन्य शहरमा पनि लैजानुपर्ने विषयमा जोड दिए ।

प्रतिक्रिया