सरकारले अलोकतान्त्रिक काम गरेको भन्दै कांग्रेसद्वारा भर्त्सना


काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारले संसदीय मूल्य मान्यता र अलोकतान्त्रिक काम गरेको भन्दै संसदको चालु अधिवेशन अन्त्य गर्ने निर्णयको भर्त्सना गरेको छ ।

आज (आइतबार) बिहान संसदीय दलको बैठकले सरकार जनताका समस्याप्रति गैरजिम्मेवार हुँदै सरकारले संसद अन्त्य गरेकोप्रति निन्दा गरेको मुख्य सचेतक रमेश लेखकले जानकारी दिएका छन् ।

लेखकले बैठकका निर्णय जानकारी दिदै भने, ‘प्रतिपक्षको अवरोधका कारण संसद चल्न नसकेको भन्ने तर्क लज्जास्पद छन् । संसदका कुनै पनि काम कारबाही अवरोध गरेको थिएन । सरकारको तानाशाही प्रवृत्तिका कारण २ दिन अवरोध भएको हो । यसको जिम्मा सरकारले नै लिनु पर्दछ । यो निर्णयको कांग्रेस घोर भर्त्सना र निन्दा गर्दछ । अलोकतान्त्रिक र संसदीय मूल्य मान्यताविरुद्ध काम नगर्न सरकारलाई कडा चेतावनी पनि दिन्छौँ ।’

सरकारका उपप्रधान तथा गृहमन्त्री नै सहकारी ठगीमा संलग्न रहेको विषयमा छानबिन गर्न माग गर्दा सरकार सदन बन्द गरेर भागेको कांग्रेसले टिप्पणी गरको छ । लेखक सरकारले संसद अधिवेशन अप्रत्यासित रुपमा स्थगित गरेको बताए ।

उनले भने, ‘पर्याप्त समय हुँदाहुँदै हिउँदे अधिवेशनको अन्त्य गर्ने, संसदमा बहुसंख्यक सांसदहरूले उठाएका कुराप्रति सरकार जिम्मेवार नहुने विषयले नै सरकार जनताप्रति उदासीन छ भन्ने कुरा प्रष्ट भएको छ ।’

प्रतिक्रिया