प्रतिनिधिसभामा आज हिउँदे अधिवेशनको अन्तिम बैठक बस्दै

काठमाडौं – प्रतिनिधिसभाको बैठक आज (आइतबार) बस्दै छ । आज बिहान ११ बजेका लागि बोलाइएको बैठक हिउँदे अधिवेशनको अन्तिम बैठक रहेको छ । सरकारले यसअघि नै आज रातिदेखि हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरिसकेको छ ।

त्यस्तै, चालु अधिवेशनमा विभिन्न मन्त्रालयबाट उत्तर प्राप्त भएका सबै मौखिक तथा लिखित प्रश्न र उत्तरह रूसम्बन्धित माननीय मन्त्रीहरुबाट टेबुल गरिने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले सुरक्षण मुद्रणसम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८० पेश गर्ने कार्यसूची रहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौं वार्षिक प्रतिवेदन २०८० पेश गर्ने कार्यसूची पनि रहेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०५० को प्रस्ताव गर्ने कार्यसूची रहेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले संघीय निजामति सेवा विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव गर्ने कार्यसूचीमा छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले राष्ट्रिय सभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० लाई दफाबार छलफलको लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव गर्ने गर्नेछन् । आजै सभामुख घिमिरेले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २१३ को उपनियम (१) बमोजिम १० वा सो भन्दा बढी बैठकमा अनुपस्थित माननीय सदस्यहरूको अनुपस्थितिको सूचनाहरू सभाको स्वीकृतिको लागि पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *