सार्वजनिक शिक्षा सुधार गर्न राष्ट्रिय अभियान


काठमाडाैं – शिक्षा अधिकार तथा सार्वजनिक शिक्षा रूपान्तरणका लागि राष्ट्रिय अभियान नेपाल (एनसिई) ले नेपालको सार्वजनिक शिक्षा सुधार गर्न एक हप्तासम्म अभियान सञ्चालन गर्ने भएको छ । एनसिईका अध्यक्ष राजेन्द्र पहाडीले शिक्षा अभियान सङ्घ, प्रदेश तथा पालिकामा विभिन्न कार्यक्रम गरी मनाउन लागिएको जानकारी दिनुभयो ।

अभियानअन्तर्गत हिजोे माइतीघरमा दिउँसो १ बजेदेखि ३ बजेसम्म नागरिक समाजको भेला कार्यक्रम भएको छ । अब १५ गतेसम्म सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत अभियान सञ्चालन गर्ने, विद्यालयमा विद्यार्थीहरूद्वारा पत्र लेखन तथा प्रधानमन्त्रीलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

यस्तै भोलि ‘सार्वजनिक शिक्षामा रूपान्तरण किन’ विषयक अन्तरक्रिया गरिने आयोजकको भनाइ छ । एनसिईले सार्वजनिक शिक्षा सुदृढीकरण गर्न सरोकारवालालाई जवाफदेही बनाउने उद्देश्यले सन् २००३ देखि नेपाललगायत विश्वका एक सय ५० भन्दा बढी देशमा विश्वव्यापी कार्य सप्ताह मनाउँदै आएको छ ।

यस वर्षको विश्वव्यापी अभियानले सरकारको प्रतिबद्धता पूरा गर्न र सार्वजनिक शिक्षा सुदृढीकरणका लागि रचनात्मक दबाब सृजना गरी शिक्षामा रुपान्तरण गर्ने लक्ष्यसहित कार्य सप्ताह मनाउन लागेको अध्यक्ष पहाडीले जानकारी दिए ।

प्रतिक्रिया