मनसुनजन्य विपद्‍मा परी १ सय ९० जनाको मृत्यु

काठमाडौं – अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी सोमबार दिउँसोसम्म एक सय ९० जनाको मृत्यु भएको छ ।

बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा तीन जना, कोशी प्रदेशमा २७ जना, मधेश प्रदेशमा आठ जना, बागमती प्रदेशमा ३२ जना, गण्डकी प्रदेशमा ५६ जना, लुम्बिनी प्रदेशमा ३६ जना, कर्णाली प्रदेशमा १३ जना र सुदूरपश्चिम प्रदेशमा १५ जना गरी जम्मा एक सय ९० जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

साथै काठमाडौं उपत्यकामा ११ जना, कोशी प्रदेशमा ३८ जना, मधेश प्रदेशमा १२ जना, बागमती प्रदेशमा २३ जना, गण्डकी प्रदेशमा ४५ जना, लुम्बिनी प्रदेशमा १८ जना, कर्णाली प्रदेशमा ५७ जना र सुदूरपश्‍चिम प्रदेशमा ३४ जना गरी जम्मा दुई सय ३८ जना घाइते भएका छन् । घाइतेलाई उपचारको लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

यस्तै काठमाडौं उपत्यकामा २८ जना, कोशी प्रदेशमा ४९ जना, बागमती प्रदेशमा १२ जना, गण्डकी प्रदेशमा १४ जना, लुम्बिनी प्रदेशमा चार जना, कर्णाली प्रदेशमा दुई जना र सुदूरपश्‍चिम प्रदेशमा पाँच जना गरी जम्मा एक सय १४ जनाको उद्दार गरिएको छ ।

बाढी पहिरोमा परी कोशी प्रदेशमा दुई जना, मधेश प्रदेशमा एकजना, बागमती प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा दुई जना, लुम्बिनी प्रदेशमा एक जना, कर्णाली प्रदेशमा एक जना र सुदूरपश्‍चिम प्रदेशमा एक जना गरी ४९ जना वेपत्ता भएका छन् । वेपत्ताको खोजी कार्य जारी रहेको प्रवक्ता कार्कीले बताए ।

बाढीको कारण जम्मा तीन सय ८४ घर डुबानमा परेका छन् । तीन सय २७ वटा घर, एक सय १२ वटा गोठ, ५१ वटा पुल, चार वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । आठ सय ५२ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्‍का घटनाबाट चार हजार आठ सय १९ घर परिवार विस्थापित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *