बाढी-पहिरोजन्य विपत्तिबाट १७ अर्ब बढीको क्षति (पूर्णपाठसहित)


काठमाडौं – बिहीबारदेखि शनिबारसम्म परेको अविरल वर्षाका कारण निम्तिएको प्राकृतिक विपदबाट १७ अर्ब ७ करोड रुपैयाँ बराबरको क्षति भएको सरकारले जनाएको छ । अविरल वर्षाका कारण २१ जिल्लाहरू प्रभावित भएका छन् ।

बाढी, पहिरो र डुबानका कारण काभ्रेपलान्चोक, ललितपुर, धादिङ, काठमाडौं, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुर जिल्ला अति प्रभावित भएका छन् । उक्त प्राकृतिक विपत्तिबाट हालसम्म २ सय २४ जनाको मृत्यु, २४ जना बेपत्ता, १५८ जना घाइते भएको प्रधानमन्त्री केपी शर्मा ओलीले जनाएका छन् । यस्तै उच्च जोखिममा रहेका ४ हजार ३३१ जनालाई उद्धार गरी सुरक्षित स्थानमा पठाइएको उनले बताए ।

प्रधानमन्त्री ओलीका अनुसार हालसम्ममा खानेपानीका संरचनामा ३ अर्ब ५५ करोड, सडक संरचनामा २ अर्ब ५२ करोड, ऊर्जाका पूर्वाधारमा ४ अर्ब र सिचाइ पूर्वाधारतर्फ १ अर्बको क्षति भएको छ । यसैगरी ३७ वटा राजमार्ग अवरुद्ध भएकोमा ९ वटा राजमार्गमा अवरोध हटाइ सञ्चालनमा ल्याइएको जनाइएको छ ।

यस्तै प्रधानमन्त्री ओलीले बाढी पहिरो तथा डुबानका कारण मृत्यु एवं बेपत्ता भएका व्यक्तिका घरपरिवारलाई राहत रकम वितरण गर्ने कार्य प्रारम्भ भइसकेको जानकारी दिएका छन् । विपद् प्रभावित व्यक्तिहरूको खोज उद्धारको कार्य दुई दिनभित्र सकिने पनि उनले बताए । यस्तै प्रभावित घरपरिवारलाई आवश्यकताका आधारमा राहत वितरण कार्यलाई एकद्वार प्रणालीबाट निरन्तरता दिइने उनले जनाए ।

प्रतिक्रिया