कैलालीको भजनीका धेरै क्षेत्र डुबानमा, जनजीवन प्रभावित
कैलाली – कैलालीको भजनीमा बाढीका कारण जनजीवन प्रभावित भएको छ । हिजोदेखिको निरन्तर वर्षाका कारण भजनी नगरपालिकाका धेरै क्षेत्र डुबानमा परेको हो ।
आफ्ना घरआँगन जलमग्न भएपछि नगरवासी प्रभावित भएका छन् । वर्षाले कान्द्रा, मोहना, काढा र पथरैया नदी बस्तीमा पसेपछि नगर क्षेत्रको जनजीवन प्रभावित भएको हो ।
पूर्णरुपमा डुबानमा परेकाहरूलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको स्थानीयवासी खेमराज पाण्डेले जानकारी दिए । नगरपालिकाको वडा नम्बर ८ धेरै प्रभावित भएको छ । यो वडाका स्थानीयवासीलाई नजिकका अग्ला भवन, विद्यालय र हुलाकी सडकमा व्यवस्थापन गरिएको छ ।
घरमा बाढी पसेपछि अन्नपात जोगाउन कठिन भएको स्थानीयवासीले बताएका छन् । वडा नम्बर ५ मा कान्द्राको बाढीले हुलाकी राजमार्गमा पनि क्षति भएको छ ।
यस वडाको लालभोझी क्षेत्रमा सयौं परिवार विस्थापित भएका नगरप्रमुख केवल चौधरीले बताउनुभयो । वडा नम्बर ३ मा पनि बाढीबाट जनजीवन प्रभावित भएको छ ।