प्रधानसेनापति शर्माको औपचारिक बिदाई


काठमाडाैं – नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले औपचारिक बिदाई पाएका छन् । शर्मा यही भदौ २४ गतेदेखि अनिवार्य अवकाश प्राप्त गर्दैछन् । उनी करिब ४२ वर्ष लामो अनवरत सैनिक सेवा एवं प्रधानसेनापतिको तीन वर्षे कार्यकाल सम्पन्न गरी अवकाश हुन लागेका हुन् ।

प्रधानसेनापति शर्माको सम्मानमा बुधवार जङ्गी अड्डामा विशेष समारोहका बीच बिदाई कार्यक्रम सम्पन्न गरेको छ । उनको स्थानमा नेपाली सेनाका बलाधिकृत अशोकराज सिग्देललाई प्रधानसेनापतिमा नियुक्त भएका छन् । उनको नियुक्ति भदौ २५ गतेबाट लागु हुने छ ।

कार्यक्रममा रक्षा सचिव रामेश्वर दंगाल र कामु प्रधानसेनापति सिग्देल लगायतले नेपाली सेनाको इतिहासमा शर्माको योग्दान, दृढता र समर्पण भावको चर्चा गरे ।

त्यसैगरी सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याल, नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक टेकप्रसाद राई र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापाले प्रधानसेनापति शर्मालाई सम्झना स्वरूप उपहार प्रदान गरेका थिए । यस्तै सैनिक श्रीमती संघकी अध्यक्ष तथा कायममुकायम अध्यक्षबिच सम्झनास्वरूप उपहार आदानप्रदान भएको थियो ।

यसअघि प्रधानसेनापति शर्माले कामु प्रधानसेनापति सिग्देललाई नेपाली सेनाको झन्डा, प्रधानसेनापतिको झन्डा तथा छडी हस्तान्तरण गरेका थिए भने प्रधानसेनापति शर्माको सम्मानमा एक टुकडीले सम्मान गारद समेत अर्पण गरेको थियो ।

प्रतिक्रिया